Monday, November 26, 2007

आठ वर्षपछि नवाज शरीफ स्वदेश फिर्ता


पाकिस्तानका भूतपूर्व प्रधानमन्त्री नवाज शरीफ आठ वर्ष लामो राजनीतिक निर्वासनपछि आईतबार साउदी अरेबियाबाट पाकिस्तानको लाहोर आईपुगेका छन्।
यो गएको तीन महिनामा निर्वासन त्यागेर स्वदेश फर्कने उनको दोस्रो प्रयास हो।

आफु चढेको बिमानभित्र बीबीसीसंग कुरा गर्दै शरिफले राष्ट्रपति जनरल परवेज मुशर्रफसंग कुनै किसिमको समझदारी हुने संभावना नरहेको बताए।

उनले, उनकै शब्दमा, तानाशाही व्यवस्था अन्त्य गर्न आफ्नो प्रयास जारी राख्ने बताए।

हाम्रा संवाददाता भन्छन्, लाहोरमा सुरक्षा व्यवस्था कडा पारिएको भएपनि शरिफ आईपुग्दा उनका समर्थकहरुले उनको भव्य स्वागत गरेका थिए।

लाठीधारी सैयौं प्रहरीहरुको घेराबन्दी तोडदै उनका दशौं हजार समर्थकहरु लाहोर विमानस्थल पुगेका थिए।

उनीहरुले शरीफले नेतृत्व गरेको पाकिस्तान मुस्लिम लिगको हरियो झन्डा फहराउनुका साथै उनको समर्थनमा नारा पनि लगाएका थिए।

उनीहरुले पाकिस्तानी राष्ट्रपतिको राजीनामाको माग पनि गरेका थिए।

स्वदेश फिर्ती

हाम्रा संवाददाताका अनुसार विमानस्थलमा खुसी र अस्तव्यस्तताको दृश्य देखिन्थ्यो।

दुई पटक पाकिस्तानको प्रधानमन्त्री भैसकेका नवाज शरीफसंग उनको परिवारका तीसजना सदस्यहरु पनि स्वदेश फर्किएका छन्।

सन् १९९९ मा एउटा रक्तविहीन विद्रोहबाट पाकिस्तानी सेनाका प्रमुख जनरल परवेज मुशर्रफले निर्वाचित प्रधानमन्त्री नवाज शरीफलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिएका थिए।

त्यसको केही समयपछि नवाज शरीफलाई निर्वासनमा पठाइएको थियो।

गत सेप्टेम्बर महिनामा नवाज शरीफ पाकिस्तान फर्केको केही घन्टा भित्रै उनलाइ पुन: विदेश पठाईएको थियो।

तर यसपटक चाहिं त्यस्तो स्थिति देखिंदैन।

पाकिस्तानस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, आउंदो जनवरीमा हुने भनिएको संसदीय चुनावकालागि नामांकन गर्नु ठीक अघि नवाज शरीफ स्वदेश फर्किएका छन्।

तर विपक्षी दलहरु सो चुनावमा सहभागी हुनेछन् वा छैनन् भन्ने स्पष्ट भैसकेको छैन।

उनीहरुले देशमा हाल लागू संकटकालीन अवस्था हटाउनु पर्ने माग गरीरहेका छन्।

तर विश्लेषकहरु भन्छन्, हालै सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति पदमा रहीरहन बाटो खुलेका जनरल मुशर्रफले तत्काल संकटकाल हटाउलान् भन्ने कुनै संकेत अहिलेसम्म देखिएको छैन।

ताजा समाचार
आठ वर्षपछि नवाज शरीफ स्वदेश फिर्ता
जर्जियाली राष्ट्रपतिद्वारा पदबाट राज‌ीनामा
विवाद सुल्झाउन सातदललाई कार्टरको प्याकेज
पाकिस्तानमा सुरक्षाकर्मी विरुद्ध आत्मघाती आक्रमण

No comments: